वडाको सिफारिसपछि मात्र बिहे

वडाको सिफारिसपछि मात्र बिहे



सुर्खेत । कपुरकोट गाउँपालिका सल्यानले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिएका छन् ।

 बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था  गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ ।

उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए । पालिकाले गर्भवती महिलाको अवस्था बारे बुझ्दा १२० जना गर्भवती पहिलो गर्भ परीक्षण गराउन आएकोमा ३५ जना २० वर्षमुनिका रहेको पाइएपछि यो नियम लागू गर्न बाध्य भएको उनको भनाई छ । 

बालविवाह हुनुमा मुख्य भूमिका अभिभावकको हुने भएकाले बालविवाह अस्वीकार गर्ने अभिभावकलाई सम्मान गर्ने पालिकाको योजना रहेको उनको भनाइ छ । विद्यालय उमेरका केटाकेटीको भागेर विवाह गर्ने चलन रोक्न विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले भने, ‘बालविवाह गर्ने गराउनेलाई कानुनअनुसारको कारबाही छँदै छ । बालविवाह गर्नेका अभिभावकलाई कालोसूचीमा राखेर पालिका र वडा कार्यालयबाट हुने सिफारिस र पञ्जीकरणमा दोब्बर शुल्क लिन्छौं ।’