काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई हराएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेकाे स्कटल्याण्डलाई ३ विकेटले हराएको हो । नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो।
दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले स्कटल्याण्डमाथि विजयी हासिल गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाउँदा कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको थियो ।
स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे । नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।
सिरिजमा नेपालले भोलि आफ्नो तेस्रो खेलमा नामिबिया र मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ ।
यस्ताे छ अंक तालिका
स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
प्रतिक्रिया