काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत सापकोटाले जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतीय हुनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतीय हुनुपर्छ । मुलुकलाई समृद्धि र आर्थिक उन्नतिमा लैजानका लागि र मुलुकलाई मध्यवधि चुनावको खर्चभारबाट जोगाउने हो भने नेपाली कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनुपर्छ । अहिले कांग्रेसबाट राष्ट्रपति, माओवादीबाट प्रधानमन्त्री र एमालेबाट सभामुख । साढे दुई वर्षपछि एमालेबाट प्रधानमन्त्री, माओवादीबाट सभामुख हुँदा मात्रै सत्ता अस्थिरताबाट मुलुक बच्छ ।’
उनले यसको सहजकर्ता नेकपा एमाले बन्नुपर्ने बताएका छन् । सापकोटाले भनेका छन्, ‘हामीले हामी सबै पार्टीको नेतृत्व र प्रवृत्ति चिनेका बुझेका छौं । यसको सबैभन्दा ठूलो सहजकर्ता एमाले बन्नुपर्छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डप्रति नेपाली कांग्रेससहित सबै दलले देखाएको सहमतीय सद्भावप्रतिको उहाँको उत्तरदायित्व यसैगरी पुरा हुन्छ । मुलुकको विशिष्ट अवस्थामा प्रतिपक्षीय भूमिका नागरिक समाज, आमनागरिक र राज्यको चौथो अंग मिडियालाई छोडे केही बिग्रन्न ।’
प्रतिक्रिया