कांग्रेसको उम्मेदवारले राष्ट्रपति पदमा जित्ने निश्चित छः शेखर कोइराला

कांग्रेसको उम्मेदवारले राष्ट्रपति पदमा जित्ने निश्चित छः शेखर कोइराला


ग्लोब नेपाल
0
Shares

सिन्धुली । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसले उम्मेदवारी दिने र त्यो उम्मेदवारले जित्ने दाबी गरेका छन् । प्रेस युनियन सिन्धुलीले मङ्गलबार बिहान सिन्धुलीमा गरेको पत्रकार भेटघाटमा कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जित्ने ठोकुवा गरे ।

राष्ट्रपति चयनको विषयले यस पटक धेरै चासो र चर्चा पाएको भन्दै पछिल्लो पटक राष्ट्रपति को बन्ने र बनाउने सवालमा केपी ओली र माधव नेपालको भेटले कांग्रेसलाई कुनै असर नपर्ने बताए । उनले भने, ‘ओली र नेपाल हिजो एकै दलका नेता हुन्, फेरि पनि उहाँहरू एक ठाउँमा रहने सम्भावना छ तर उहाँहरू एक भइरहँदा पनि कांग्रेसलाई कुनै असर पर्दैन । देशको पहिलो दल भएको हैसियतले कांग्रेसको उम्मेदवारले राष्ट्रपति पदमा जित्छ ।’

पाँच दलीय गठबन्धन टिकाउन नसक्नुमा काङ्ग्रेसबाट कमजोरी भएको र अब कमीकमजोरी दोहोरिन नदिने बताए । उनले दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने बताए ।

पार्टी सङ्गठन कमजोर रहेको बताउँदै उनले अबका दिनमा सबैले आफ्नो जिम्मेवारी अनुसार सङ्गठनलाई बलियो बनाउन लाग्नु पर्नेमा जोड दिए । गाउँ र जिल्ला तहमा भएको गुटगत राजनीतिले काँग्रेस कमजोर भएको भन्दै कोही एमालेसँग नजिक हुने, कोही माओवादीसँग निकट हुने तर आफ्नै साथीसँग पानी बाराबारको अवस्था रहेकाले त्यसो हुन नदिन उनले आग्रह गरे ।