काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरुकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखमा एमाले निकट अखिलले त्रि-चन्द्र क्याम्पसमा तालाबन्दी गरेको छ । क्याम्पस स्राेतकाअनुसार विद्यार्थीको भर्नाको बिषयलाई लिएर तालाबन्दी गरेको हाे ।
त्रि-चन्द्र क्याम्पसमा नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्ववियु जित्दै आएको हुँदा निहु खोज्न मात्र तालाबन्दी गरेको एक विद्यार्थीले बताए । अखिलकाे याे रवैयाले निर्वाचन भाँड्ने षड्यन्त्र भएकाे स्पष्ट बुझ्न सकिने नेवि संघका एक नेताले ग्लाेब नेपालसंगकाे कुराकानीमा बताएका छन् ।
निर्वाचन प्रक्रिया अनुसार १२ फागुनमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा १८ फागुनमा मतदान हुनेछ ।
निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा स्ववियु निर्वाचन विसं २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुँदै आएको थियो ।
त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।
प्रतिक्रिया