कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी सबैभन्दा अगाडि

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी सबैभन्दा अगाडि



खोटाङ ।    कार्यसम्पादन सुचक मूल्यांकनमा खोटाङको १० स्थानीय तहमध्ये जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम अंक ल्याएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रकाशित गरेको कार्यसम्पादन सूचक मूल्यांकन प्रतिवेदनअनुसार जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम ४४.०८ अंक ल्याएको छ ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिवेदनअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ । १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६६.७८ अंक ल्याएको राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले जनाएको छ । 

आयोगका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५९.८४ अंक, ऐसेलुखर्क गाउँपालिकाले ५७.७८ अंक, हलेसी तुवाचुङ नगरपालिकाले ५५.३० अंक, खोटेहाङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको छ । यस्तै, साकेला गाउँपालिकाले ५१.१३ अंक, रावाबेँसी गाउँपालिकाले ४९.०६ अंक, केपिलासगढी गाउँपालिकले ४७.५९ अंक र बराहपोखरी गाउँपालिकाले ४६.४८ अंक पाएको आयोगको प्रतिबेदनमा उल्लेख छ । 

असार १० गतेभित्र राजस्व र व्यायको अनुमान गाउँसभा/नगरसभामा गरे/नगरेको, असार मसान्तभित्र राजस्व र व्यायको अनुमान पारित गरे/नगरेको, आर्थिक वर्ष २०७७/०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोग गरे/नगरेको, आवधिक योजना तर्जुमा गरे/नगरेको लगायतका सुचकको आधारमा कार्यसम्पादन सुचक मूल्यांकन गरिएको हो ।

यस्तै, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको, आर्थिक वर्ष २०८०/०८१ को आयव्याय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०७९ पुस सान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेन/गरेको, आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी ततसम्वन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, चार पटक गर्भ जाँच गर्ने महिलाको संख्या लगायतको आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ ।