नियम उल्लंघन गर्ने सवारीबाट माघसम्म ४० लाख बढी राजश्व संकलन

नियम उल्लंघन गर्ने सवारीबाट माघसम्म ४० लाख बढी राजश्व संकलन



लमजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारी नियम उल्लंघन गर्ने सवारी तथा यातायातका साधनहरुबाट चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४० लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार चालु आर्थिक बर्षको शुरु देखि माघ मसान्तसम्म नियम उल्लंघन गर्ने कूल ५ हजार ९ सय ५० सवारी साधनलाई कारबाही गरी जरिवानाबाट ४० लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयले पुसमा सबैभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । उक्त महिनामा १ हजार १०० सवारी कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालय, लमजुङका अनुसार गत आर्थिक बर्षमा सवारी नियम उल्लंघन गर्ने ५ हजार ४ सय ७६ सवारी साधनबाट ३४ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

यसैगरी आर्थिक बर्ष २०७६/७७ मा ४ हजार ८ सय २५ सवारी साधन बाट ३१ लाख ७२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक बर्षको १२ महिनामा भन्दा यस आर्थिक बर्षको सात महिनामा बढी राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय लमजुङको रेकर्डमा देखिएको छ ।

यस आर्थिक बर्षमा ८ सय १९ बटा ट्रक, ३ सय ५४ बटा वस, १ हजार ५ सय १५ जीप कार भ्यान जस्ता सवारी साधन, ४ सय ८ बटा ट्रयाक्टर, २ हजार ८ सय ५४ मोटर साईकललाई सवारी उल्लंघन गरे बापत जरिवाना गरेको थियो ।