काठमाडौं । अभिनेता पल शाह जेल मुक्त भएका छन् । बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई हिजो आइतबार सफाइ दिएको थियो । जेलमुक्त गर्न अदालतले गरेको आदेशअनुसार उनी सोमबार छुटेका हुन् ।
बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । आज फागुन १५ नै जेलमुक्त भएका छन् । पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको थियो । उनीहरूले पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरिरहेका छन् ।
यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । बलात्कारको अभियोग दर्ता भए पनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो ।
तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् । प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।


प्रतिक्रिया