काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनी(पीएनजी)लाई जितेर विजयी सुरुआत गरेको छ । यूएईमा आजबाट सुरु भएकाे सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) लाई ४ विकेटले पराजित गरेको हो ।
आइसिसी विश्वकप लिग–२ मा नेपालले लगातार पाँचौं जित निकालेको छ । नेपालले अघिल्लो साता घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो । नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ ।
पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । कुशलले ५ चौका प्रहार गरेका थिए ।
अर्का ओपनर आसिफ शेखले ४४ रन बनाए । दुई ओपनरका बीचमा ७६ रनको साझेदारी भएको थियो । मध्येक्रमका ब्याटर आरिफ शेखले ६२ बलमा ३८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरेका थिए ।
कप्तान रोहितकुमार पौडेलले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुवा र सेसे बाउले समान ११ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो । पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए ।
किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कुशल मल्लको बलमा आउट भए । हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जी.सीले आउट गराए । नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी, सोमपाल कामी, प्रतिश जीसीको नाममा समान १/१ विकेट रह्यो ।
मार्च २ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ मा घरेलु टोली यूएईसँग खेल्नेछ । नेपाल, युएई र पिएनजीबीचको अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ ।
यस्ताे छ अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २९ खेलमा २ मा जित र २६ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ।
प्रतिक्रिया