इलन पुन: विश्वकै धनी व्यक्ती

इलन पुन: विश्वकै धनी व्यक्ती



काठमाडौं । अर्बपति इलन मस्क पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बनेका छन् । टेस्लाको सेयर माउमा उच्च वृद्धि हुँदा मस्कको सम्पति बढेको हो । मस्क १ खर्ब ८७ अर्ब डलर नेटवर्थसहित ब्लुमबर्गको अर्बपतिहरुको सूचीमा फेरि पहिलो नम्बरमा फर्किएका हुन् । लुई भिटनका मालिक बर्नार्ड आर्नल्ट भने १ खर्ब ८५ अर्ब डलर नेटवर्थसहित दोस्रो स्थानमा झरेका छन् ।

यसअघि गत डिसेम्बरमा आर्नल्टले मस्कलाई उछिन्दै धनाढ्यहरुको सूचीमा पहिलो नम्बरमा पुगेका थिए । दुई महिना भन्दा बढी समयपछि मस्क पुनः पहिलो नम्बरमा पुगेका हुन् । टेस्लाको सेयर भाउ सोमबारमात्रै ५.४६% ले वृद्धि हुँदा मस्कको सम्पति एकै दिनमा ६.९८ अर्ब डलरले बढेको थियो ।

ट्वीटरको एक्विजिसनका साथै समग्र बजारमा आएको मन्दीका कारण सन् २०२२ मा टेस्लाको सेयर भाउमा उच्च गिरावट आएको थियो । यद्दपि, यस वर्ष भने सुरुवातदेखि नै बढ्दोक्रममा रहेको छ । सन् २०२३ सुरु भएयता टेस्लाको सेयर भाउ ९२.०७% ले बढेको छ । यसअवधिमा मस्कको सम्पति पनि ५०.१ अर्ब डलरले वृद्धि भएको छ ।

ब्लुमबर्गको बिलिनियर्स इन्डेक्समा हाल मस्क पहिलो नम्बर, आर्नल्ट दोस्रो, जेफ बेजोस तेस्रो, बिल गेट्स चौथौ र वारेन बफेट पाँचौं स्थानमा छन् । भारतका गौतम अडानी ३२ औं स्थानमा झरेका छन् । अमेरिकी इन्भेस्टमेन्ट रिसर्च कम्पनी हिन्डेनबर्गको रिपोर्ट आउनुअघि ब्लुमबर्ग इन्डेक्समा उनी विश्वका चौथा धनी व्यक्त्ती थिए । अडानीका कम्पनीहरूको हिसाबकिताब गडबडी तथा चलखेलबाट सेयर मूल्य उचालेको सम्बन्धमा हिन्डेनबर्गले अघिल्लो महिना एउटा विस्तृत प्रतिबेदन सार्वजनिक गरेको थियो । अडानीले २०२२ मा ४० अर्ब डलरले आफ्नो सम्पत्ति बढाएका थिए ।