सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १६ जना घाइते

सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १६ जना घाइते



काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा १२ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । सप्तरीमा दुई स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

कञ्चनरुप–९ विष्णुमन्दिर नजिक मंगलबार बिहान बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका –३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका १२ जनाको विराटनगरमा उपचार भइरहेको छ । 

सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  

साथै काभ्रेको पाँचखाल नगरपालिका ४ लामीडाँडामा मंगलबबार  टिप्परको ठक्करबाट मोटरसाइकल चालकको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ का २० वर्षीय गौतम तामाङको मृत्यु भएको छ । 

धुलिखेल अस्पतालमा मंगलबार पौने १० बजे तामाङको मृत्यु भएको हो । सोही घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १९ वर्षीय सांगी तामाङको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जिरो किलोबाट पाँचखालतर्फ जाँदै गरेको बा ५ ख ३४९४ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको बा ८५ प ९०१७ नम्बरको मोटरसाइकलाई मंगलबार बिहान करिब ९ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिप्पर चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ । 

उता, नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका ४ काभ्रेली चोकमा ट्याक्टर पल्टिँदा १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार सोही ठाउँका १२ वर्षीय बविन क्षेत्री रहेका छन् ।

जिल्ला अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान सवा ४ बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनाएको छ । दुर्घटनामा घाइते भएकी ट्याक्टरमा सवार स्थानीय २७ वर्षीया डुग्गी कुँवर क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका ट्याक्टर चालक भने उपचार पश्चात प्रहरीको नियन्त्रणमा छन् ।  लु ४ त ३०४६ नम्बरको ट्याक्टर सवा १ बजे अनियन्त्रित भई सडक किनारमा रहेको गणेश प्रसाद बस्यालको घरमा ठोकिन पुगेको थियो । 

यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका २ पेन्सन क्याम्प चोकमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जना घाइते भएका छन् । मोटरसाइकल चालक बाग्लुङ नगरपालिका ३ गुठीका २३ वर्षीय शैलेन्द्र खड्का र पछाडी सवार स्थानीय २६ वर्षीय मिलन पुन मगर घाइते भएका हुन् । 

धौलागिरि अस्पतालबाट दुवैलाई थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ । सडक किनार पार्किङमा राखेको ना ८ ख ३६८६ नम्बरको ट्रकमा ध १ प ९७३९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलमा सवार दुवै मदिराको नशामा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।