बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि रोक्न गृह मन्त्रालयको परिपत्र

बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि रोक्न गृह मन्त्रालयको परिपत्र



काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेर अवाञ्छित गतिविधि फैलाउनेलाई रोक्न गृह मन्त्रालयले परिपत्र जारी गरेको छ ।

मन्त्रालयले ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएर बैंकका शाखाको सुरक्षामा खलल पार्ने तथा आन्दोलनको नाममा शान्ति सुरक्षा हनन गर्ने क्रियाकलाप बढ्न सक्ने भएकाले त्यसलाई रोक्न परिपत्र जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीविरुद्ध संगठित रूपमा नै आन्दोलन हुन थालेकाेले बैंकर्स संघको टोलीले बिहीबार गृहसचिव तथा प्रहरी प्रमुखलाई भेटेर सुरक्षा माग गरेका थिए ।

झापाका व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहले बैंकविरुद्धको आन्दोलन गर्ने, कालोमोसो समेत दल्ने धम्की दिएको थियाे ।

बैंक तथा वित्तीय संस्थाको शाखा बन्द गराउने अभियानसमेत चलेको छ । पछिल्ला क्रियाकलापले बैंकका कर्मचारी डराउनुपर्ने स्थिति आएको छ ।