आज फागु पूर्णिमा

आज फागु पूर्णिमा


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन् ।

यता, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका छन् ।