नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै

नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै

लिग टुको शीर्ष तीनमा रहन नेपालले आजको खेल जित्नैपर्ने


ग्लोब नेपाल
0
Shares

दुबई । नेपालले आइसिसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दैछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपाली टोलीमा आजको खेलमा एक जना सदस्य परिवर्तन गरिएको छ । घाइते हुँदै टिम बाहिर रहेका ओपनर कुशल भुर्तेलको स्थानमा युवा फास्ट बलर प्रतिश जिसी पहिलो रोजाइमा खेल्नेछन् । यसैबीच युएईले नेपालसँग खेल्नुअघि कप्तान परिवर्तन गरेको छ । नियमित कप्तान सिपी रिजवानको स्थानमा मोहम्मद वासिमलाई कप्तानी दिएको छ ।

नेपाल र युएईबीच ओडिआईमा १० खेल भएको छ । नेपाल ४ मा जित र ६ खेलमा पराजित भएको छ । नेपालले २०१९ को ओडिआई सिरिज घरेलु टोली युएईलाई २-१ ले हराएको थियो । केहि महिना अघि घरेलु मैदान टियुमा युएईसँगको तीन खेलको सिरिज २-१ ले जितेको थियो । अन्य सबै खेलमा नेपाल युएईसँग पराजित भएको छ । लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण छ । नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ । यो खेलसँगै नेपालको यूएई भ्रमण टुंगिनेछ ।

नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि.सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।