सिँचाइ सुविधा नहुँदा कैलालीमा मकै खेती न्यून

सिँचाइ सुविधा नहुँदा कैलालीमा मकै खेती न्यून



धनगढी । कैलाली वसन्ते मकै खेतीका लागि उर्वर क्षेत्र मानिए पनि सिँचाइ अभावका कारण जिल्लाको पहाडी क्षेत्रमा खेती प्रवर्द्धन हुन सकेको छैन ।

प्रदेश सरकार, स्थानीय तह र संघिय सरकारले बर्षेनी करोडौं बजेट सिंचाईमा खर्च गर्ने गरेका भएपनि कैलालीको पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकामा वसन्ते मकै खेती न्यून हुँदै आएको छ । ‘वातावरणीय रुपमा कैलालीका दुई पहाडी पालिकामा वसन्ते मकैको राम्रो संभावना रहेको छ,’  कृषि ज्ञान केन्द्र कैलालीका अधिकृत श्यामनारायण चौधरीले भने, ‘तर सिंचाई अभावका कारण पहाडी क्षेत्रमा वसन्ते मकै खेती खास्सै भएको छैन, त्यहाँ बजारको पनि समस्या रहेको छ ।’

कैलालीमा ५ हजार ७ सय ४१ हेक्टर क्षेत्रफलमा बर्षे मकै खेति हुने गरेको भएपनि चैते मकै खेति भने ४ सय ४० हेक्टरमा मात्रै हुने गरेको अधिकृत चोधरीले बताए । ‘बर्षायाममा पहाडी क्षेत्रमा पनि मकै खेति हुने गर्दछ,’ चौधरीले भने, ‘तर वसन्ते मकै खेति गर्न पहाडी क्षेत्रमा सिचाईको समस्या रहेको छ, जसका कारण कैलालीको तारई क्षेत्रमा मात्रै वसन्ते मकै खेति हुने गरेको छ, पहाड तिर  सिंचाईको सुबिधा भएको थोरै स्थानमा मात्रै वसन्ते मकै खेती हुने गर्दछ ।’

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माका अनुसार वसन्ते मकै खेतिबाट कैलालीमा गत बर्ष १ हजार ७ सय ८० मेट्रिकटन मकै उत्पादन भएको थियो । तर  पहाडी क्षेत्रमा सिचाई सुविधा पुर्‍याउन सकेको अवस्थामा उत्पापादन दोब्बर हुन सक्ने कार्यालय प्रमुख शर्मा बताउँछन् । ‘बर्षे मकै खेतीभन्दा वसन्ते मकै राम्रो उत्पादन हुने गरेको छ,’ शर्माले भने मकै उत्पादनका लागि पहाडी क्षेत्रको हावा पानी पनि राम्रो छ, तर सिंचाई अभाव कारण पहाडमा मकै खेति विस्तार हुन सकेको छैन ।’ उनले पहाडी क्षेत्रमा सिंचाईको सुबिधा पुगाउन प्रदेश सरकारको लगानी मात्रै प्रयाप्त नहुने बताए । 

एक सय हेक्टर क्षेत्र फलमा ५० प्रतिशत अनुदान

कैलालीमा वसन्ते मकै खेति गर्न प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिदैछ । कैलालीमा ४ सय ४० हेक्टर क्षेत्रफलमा वसन्ते मकै खेति हुने गरेकोमा त्यस मध्य प्रदेश सरकारले एक सय हेक्टर क्षेत्रफलमा ५० प्रतिशत अनुदान दिन लागेको हो ।

त्यसका लागि ७ वटा कृषि सहकारी संस्था, ८ वटा समुह र १२ वटा व्यक्ति वा फर्मलाई छनौट गरिएको कृषि ज्ञान केन्द्र कैलालीका अधिकृत श्यामनारायण चौधरीले बताए । छनौट भएका सहकारी तथा समुहलाई बढीमा ५० हजार सम्म कृषि ज्ञान केन्द्रले उपलब्ध गराउने छ, भने ५० हजार कृषकले व्यहोर्नुपर्ने छ । ५० हजार अनुदान पाउनका लागि किसानले डेढ किघा जमिनमा मकै खेति गर्नु पर्ने हुन्छ, भने कृषि ज्ञान केन्द्रले सिफारिष गरेको बीउ प्रयोग गर्नुपर्ने हुन्छ ।

कृषि ज्ञान केन्द्रले कैलालीमा १० प्रकारका मकैका बीउ सिफारिष गरेको छ । सिफारिष भएका बीउमा अरुण–२, ३, ४ र ६, रामपुर कम्पोजिट, नुतन (के.एच.१०१), राजकुमार, ९२२०, टी एक्स–३६९ तथा रामपुर हाइब्रिड–१० रहेका छन् ।

अनुदान पाएका किसानले आवश्यककता अनुसार पानी तान्ने मोटर, बीउ, किटनाषक औषधी वा अन्य सामग्री खरिद गर्नु पर्ने छ । कैलालीमा चैते धान खेतिका लागि जम्मा १ सय ९५ जनाको आवेदान परेको थियो । 

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार मकैका लागि बजारको अभाव भने छैन । जिल्लामै थुप्रै दाना उद्योग सञ्चालन रहेका कारण कृषकले उत्पादन गरेको मकै सहजै विक्रि हुने अधिकृत चौधरी बताउँछन् । ‘मकै खेति गर्दा पनि हामीले दाना उद्योगी संग समन्वय गरेका छौं,’ चौधरीले भने, ‘उनिहरुले उत्पादन भएको सवै मकै खरिद गर्न सक्ने आस्वासन दिएका छन्, त्यसैले तराई क्षेत्रमा उत्पादन हुने मकैका लागि बजारको अभाव छैन, पहाडी क्षेत्रमा अलि अलि समस्या रहेको छ ।’ यसका साथै पोलेर खाने प्रयोजनका लागि मकैको राम्रो बजार रहेको उनले बताए । 

कैलालीमा गत बर्ष बर्षे र वसन्ते गरी जम्मा ६ हजार १ सय ८१ हेक्टर क्षेत्रफल जमिनमा मकै खेति भएको थियो भने, १३ हजार ५ सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । कैलालीमा प्रतिहेक्टर जमिनमा तीन देखि ४ माट्रिकटन मकै उब्जनरी हुने गरेको छ । कैलालीको मकै उत्पादकत्व २ दशमलव १९ मेट्रिकटन रहेको छ ।