काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा



काठमाडौं । अहिले देशभर मौसमी बदली रहनुका साथै काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार कर्णाली प्रदेशको डोल्पासहित उच्च हिमाली भेगमा हल्का हिमपात भइरहेको छ । ‘अहिले देशभर बदली भइरहेको छ, कतिपय उच्च हिमाली भूभागमा हिमपात हुनाका साथै उपत्यकामा पनि वर्षा भएको छ,’ उनले भने ।

कास्की, पाल्पा र रुपन्देहीमा बिहान हल्का वर्षा भएको थियो । बुधवार पहाडी र हिमाली क्षेत्रका भू–भागमा मौसम बदली रहनाका साथै पश्चिम तराईका क्षेत्रमा मौसम केही खुल्ने देखिएको मौसमविद् पौडेलले बताए । बदली र वर्षा भए पनि ठूलो बाढी र पहिरोको सम्भावना भने नरहेको उनको भनाइ छ ।

महाशाखाकाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।