अपडेट : राष्ट्रपति निर्वाचनमा ८२४ मत खस्यो

अपडेट : राष्ट्रपति निर्वाचनमा ८२४ मत खस्यो



काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

दिउँसो २ बजेसम्म ८२४ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उनका अनुसार प्रदेशसभा सदस्यका तर्फबाट ५१५ र संघीय सांसदका तर्फबाट ३०९ मत खसिसकेको छ ।

दुई केन्द्रबाट मतदान भइरहेको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्दै छन् । राष्ट्रपति निर्वाचनमा प्रत्येक प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।

नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर गणना सुरु गरिने आजै बेलुका ७ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।