पीएनजीमाथि नेपालकाे सानदार जित

पीएनजीमाथि नेपालकाे सानदार जित

आसिफ र सन्दीपको उत्कृष्ट प्रदर्शन


ग्लोब नेपाल
918
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।

जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ५४ रनमा अल आउट भयो । पिएनजीका नर्मन भानुवा ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए ।

पिएनजीलाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै ३७ रन दिए । दिपेन्द्र सिंह ऐरिले २ विकेट लिए। कुशल मल्लले एक विकेट आफ्नो नाममा गरे । पीएनजीका ओपनर टोनी उरा ५० रनमा क्याच आउट भए। कप्तान असद भाला ४२ रनमा क्याच आउट भए ।

किपलिन डोरिगा २६ र रिले हिकुरेले २० रन थपे। चाल्र्स आलिमी १४, हिरिहिरी ८, सेसे बाउ ३ र चाड सोपर शुन्य रनमा आउट भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २ सय ९७ रन बनाउँदा अलआउट भयो ।

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा ११० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि आशिफ र कुशलले गरेको साझेदारी दोस्रो ठुलो साझेदारी हो । यसअघि कुशल र आशिफले नै पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । ११० बलको सामना गरेका आशिफ १२ चौका र २ छक्का हान्दै ११० रनमा क्याच आउट भए ।

आशिफले १०१ बलमा १० चौका र २ छक्का हान्दै शतक पुरा गरे । ३५ औँ ओभरको अन्तिम बलमा आशिफले करियरको पहिलो शतक हाने । पीएनजीसँग कै खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका आशिफले पीएनजीविरुद्ध नै करियरको पहिलो शतक हाने ।

ओडीआई करियरको १ हजार रन पूरा गरेका आशिफले इन्टरनेशनल करियरकै पहिलो शतक हाने । समग्रमा आशिफको यो चौथो शतक हो । उनले यसअघि घरेलु क्रिकेटमा २ शतक हानेका थिए। पीएनजीसँगकै अभ्यास खेलमा उनले एक शतक हानेका थिए ।

ओडीआई क्रिकेटमा नेपालको तर्फबाट शतक हान्ने आशिफ पाँचौँ खेलाडी हुन् । पीएनजीसँगको खेलमा नै १ हजार रन पुरा गरेका आशिफ नेपालको तर्फबाट ओडिआइमा १ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने। यसअघि कप्तान रोहित पोडेलले १ हजार रन पुरा गरेका थिए ।

अर्का ओपनर कुशल ४५ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल ३०, आरिफ शेख १५, ज्ञानेन्द्र मल्ल ११, करण केसी ८ र कुशल मल्ल २ रनमा क्याच आउट भए। दिपेन्द्र सिंह ऐरि ७ रनमा रनआउट भए । सन्दीप लामिछाने ७ रनमा क्याच आउट भए । भीम सार्की ४४ रनमा क्याच आउट भए । ३८ बलमा ४ चौका हाने । सोमपाल कामी ४ रनमा नटआउट रहे । पीएनजीका सिमो कामिया एक्लैले ५ विकेट लिए । उनले ९.१ ओभरमा ३८ रन दिए । रिले हेकुरे एक्लैले ३ विकेट आफ्नो नाममा गरे ।