युवा नेताहरुको सकृयतामा ‘जय नेपाल फाउण्डेसन नेपाल’ स्थापना भएको छ । फाउण्डेसनको अध्यक्षमा बद्री अर्याल र सदस्य सचिवमा विजयराज अधिकारी चयन हुनुभएको छ ।
फाउण्डेसनका जेष्ठ सदस्य प्राध्यापक डाक्टर रामचन्द्र अधिकारीको संयोजकत्वमा काठमाडौमा सम्पन्न र्बैठकले अर्याललाइ अध्यक्ष र अधिकारीलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । फाउण्डेसनको सदस्यहरुमा बिजुला कुमारी वर्मा राणा, नरेश कुमार यादव, योगेन्द्र राई, शान्ता कुमारी तामाङ, प्रकाश रावल र राम वहादुर रोकाया रहेका छन् ।
राजनीतिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका बारेमा अध्ययन अनुसन्धान गर्न फाउण्डेसन स्थापना भएको हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने फाउण्डेसनको लक्ष्य रहेको अध्यक्ष अर्यालले बताउनुभयो । सात प्रदेश र ७७ वटै जिल्लामा समिति गठन गर्ने फाउण्डेसनको योजना रहेको छ ।
अमेरिकामा नेपाल विद्यार्थीसंघका पूर्व महामन्त्री प्रा.डा.यादव पण्डितको नेतृत्वमा ‘जय नेपाल फाउण्डेसन अन्तराष्ट्रिय समिति’ समेत स्थापना भएको छ । अन्तराष्ट्रिय समिति र जय नेपाल फाउण्डेसन नेपालबीच सहकार्यमा आगामी कार्यक्रमहरु अघि वढाइने फाउण्डेसनले जनाएको छ ।


प्रतिक्रिया