काठमाडाैं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
२०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसअघि उनी शिक्षण पेसामा आबद्ध थिए ।
जसपाका संसदीय दलका नेतासमेत रहेका उनी २०६४ मा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । यस्तै २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट सांसदमा निर्वाचित भएका हुन् । उनले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
आज भएको निर्वाचनमा यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्दै नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे । पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् । उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाइन् ।
प्रतिक्रिया