के हाे नवनिर्वाचित उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार ?

के हाे नवनिर्वाचित उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार ?

यस्तो छ संवैधानिक व्यवस्था


ग्लोब नेपाल
567
Shares

काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

संविधानमा के छ उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार ?

नेपालकाे संविधान २०७२ ले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी भाग ६ मा व्यवस्था गरेको छ । संविधानको धारा ६७ मा उपराष्ट्रपतिसम्बन्धी व्यवस्था गरिएको छ । ६७ (१) मा नेपालमा एक उपराष्ट्रपति रहनेछ भनेर लेखिएको छ । यस्तै, ६७ (२) मा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ भनि लेखिएको छ । अर्थात्, राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट राष्ट्रपतिले गर्न पाउने सम्पूर्ण कार्यहरू सञ्चालन गर्न सक्ने संविधानले अधिकार दिएको छ ।

संविधानको धारा ६६ राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले गर्न पाउने कामबारे उल्लेख गरिएको छ ।

६६. राष्ट्रपतिको काम, कर्तव्य र अधिकार : (१) राष्ट्रपतिले यो संविधान वा संघीय कानुनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।

(२) उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुनेछ ।

(३) उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संघीय कानुनबमोजिम हुनेछ ।