मुख्यमन्त्री जम्मकट्टेलले भाेली विश्वासकाे मत लिने

मुख्यमन्त्री जम्मकट्टेलले भाेली विश्वासकाे मत लिने

प्रदेश सरकारको नेतृत्वमा कांग्रेसकाे दाबी



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भाेली (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिदै छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनले दोस्रो पटक संसदबाट विश्वासको मत लिन थालेका हुन् ।

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

तर, नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्वमै दाबी गरेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दलको रुपमा रहेको कांग्रेसले सरकारको नेतृत्व आफूले गर्नेबारे छलफल जारी रहेको जानकारी दिएको छ ।