व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य छैन : कोइराला

व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य छैन : कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ब्यक्तिगत फोन टयाप गर्ने बुदाँ उल्लेख भएर आउन लागेको कानुन प्रति आपत्ति जनाएका छन् ।

सरकारले टेलिफोन/मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन मस्यौदा नै बनाइसकेको छ । नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयक ल्याउने तयारीमा सरकार लागे पछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन । 

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले टविट गर्दै भनेका छन्, ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।’ 

राष्ट्रीय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान दिन कोइरालाले आग्रहसमेत गरेका छन ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ०७६ को साउनमा पनि नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयकको मस्यौदा तयार गरिएको थियो । तत्कालीन प्रतिपक्षी कांग्रेसलगायतका राजनीतिक दल र नागरिक समाजबाट चर्को विरोध भएपछि विधेयक रोकिएको थियो ।

अहिले कांग्रेससहितको गठबन्धन सरकारले अझै स्पष्ट व्यवस्था गर्दै विधेयक ल्याउने तयारी रहेको छ । तर सत्ता गठबन्धनकै नेताहरू र सांसदहरुले यसको विरोध थालेका छन् ।