अमेरिकी सेनाको २२ सदस्यीय टोली काठमाडौंमा

अमेरिकी सेनाको २२ सदस्यीय टोली काठमाडौंमा



काठमाडौं । नेपाली सेनासँग काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ ।

यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाले जानकारी दिएकाे छ । गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो ।

यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ । अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ ।

छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन् ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तय भएको छ ।