मनाङ मर्स्याङ्दी खप्तड गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी खप्तड गोल्डकपको सेमिफाइनलमा



धनगढी । मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा बागमती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।

मनाङलाई जित दिलाउन कोफी टिमोथी कुडो र सेदजामोल दाभ्लातजोनोभले एक–एक गोल गरे । यता बागमतीका लागि सृजन गौतमले एक गोल फर्काए । खेलको ३७ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । बागमतीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्कायो ।

बागमतीका लागि सृजन गौतमले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मनाङले दोस्रो हाफमा थप एक गोल गर्यो ।

मनाङका लागि खेलको ६६ औं मिनेटमा सेदजामोलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ । अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १५ गते हुनेछ ।

प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।