मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन

मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन

विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने



काठमाडौं । मिटरब्याज पीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ । समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । 

सरकारले पीडितहरुका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ । उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ । 

बैठकअघि पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगाल रहेका छन् । 

वार्ता टोलीले मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ ।  

पीडितहरू काठमाडौं आएलगत्तै प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारीलाई पीडितरूसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए । 

पीडितहरूसँग वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले आज नै पीडितहरूसँग भेट गर्ने र थप छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।