नगरप्रमुख श्रेष्ठमाथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार

नगरप्रमुख श्रेष्ठमाथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार



सिरहा । सिरहाको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका र्को व्यक्तिले प्रमुख श्रेष्ठमाथि मोबिल छ्यापेका हो ।

प्रमख श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको र अर्कोले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डले बताए । उनले भने, ‘मेयर गाडीमा चढ्न खोज्दै हुनुहुन्थ्यो, म पनि गाडीभित्र पसेकोमात्र के थिएँ, त्यतिकैमा मैले सिसामा पानी आएजस्तो लागेको देखेर हत्तपत्त उत्रिएँ, एकजनालाई समाएँ र अर्को भने भाग्न सफल भयो ।’

मोबिल छ्याप्नेहरुले नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ । पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका- १ का साधुशरण महरा रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका महरालाई जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको  इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक टुपेन्द्र बुढाथोकीले जनाएको छ । 

उनीहरुले छरेको पर्चामा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठलाई लघुवित्तमार्फत् गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको,  बजारको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको कारण जनकारबाही गरेकाे उल्लेख गरिएको छ । 

पर्चामा फर्जी कागज बनाई गोलबजार- १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र आफ्ना नेता कार्यकताविरुद्ध सुराकी गरेकोले जनकारबाही गरेको पर्चामा उल्लेख गरिएको छ । 

घटनाको विषयमा बुझ्न आएका कार्यकर्ताले केहीबेर पूर्व-पश्चिम लोकमार्गमा प्रहरीविरुद्ध नाराबाजी गर्दै चक्काजाम गरेको थियो । सिरहामा जनप्रतिनिधिमाथि मोबिल छ्यापेको यो पहिलो घटना हो ।