नेपाली सेना र अमेरिकी सेनाबीच दुई पक्षीय बैठक सम्पन्न

नेपाली सेना र अमेरिकी सेनाबीच दुई पक्षीय बैठक सम्पन्न



काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच तीन दिने बैठक ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ सम्पन्न भएको छ ।

अस्ति सोमवारदेखि आज बुधवारसम्म काठमाडौंमा भएको बैठकमा शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदानलगायतका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवहरूका साथै नेपाली सेनाका रथी एवम् अधिकृतहरू सम्मिलित १४ सदस्यीय टोली र अमेरिकी सेनाको प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथको नेतृत्वमा २२ सदस्यीय टोली सहभागी भएका थिए । कार्यक्रममा नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गरेका थिए ।

बैठकले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको उपरथी सिग्देलले बताए । सन् २०१८ देखि हरेक वर्ष नियमितरूपमा आयोजना हुँदै आएको यो कार्यक्रमको अर्को संस्करण २०२४ मार्चमा अमेरिकामा आयोजना हुने तय भएको छ ।