दलितले छोएको भन्दै भोज घोप्ट्याउने जनप्रतिनिधिसहित ४ पक्राउ

दलितले छोएको भन्दै भोज घोप्ट्याउने जनप्रतिनिधिसहित ४ पक्राउ



पोखरा । व्रतबन्धमा दलित भन्दै जातीय विभेद गरेको आरोपमा भतेर घोप्ट्याउने कास्कीका जनप्रतिनिधिसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले बताए ।

चार जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएका थिए । लामिछाने फरार रहेकोमा आइतबार जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए । फरार रहेका जनप्रतिनिधि रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारबाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् ।