बारा–२ मा ३६ जनाको उम्मेदवारी दर्ता

बारा–२ मा ३६ जनाको उम्मेदवारी दर्ता



बारा । प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज निर्धारित समयसीमा भित्र दलहरूको तर्फबाट १२ जना र स्वतन्त्र २४ गरी ३६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव सो क्षेत्रबाट निर्वाचित भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दिएका छन् । यी सबै गत मंसिरमा सम्पन्न निर्वाचनमा विभिन्न क्षेत्रमा उम्मेदवार रही पराजित भइसकेका हुन् ।

सत्ता गठबन्धनमा रहेका ठुला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको साझा उम्मेदवारका रुपमा जसपा नेपालका अध्यक्ष यादवले उम्मेदवारी दिएका हुन् ।