बालेन साह र हर्क साम्पाङको पहिलो भेट

बालेन साह र हर्क साम्पाङको पहिलो भेट



काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्क साम्पाङबीच पहिलो भेट भएकाे छ । सरकारसँग खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर बालेनलाई भेटेका हुन् । साम्पाङ धरानका उपमेयर अइन्द्रविक्रम बेघासहितको टोली लिएर महानगपालिका पुगेका थिए ।

दुईजनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरेका छन् । लिम्बू जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्दै आएका छन् ।

लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ भन्नाले रोक्नु हो । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा यसलाई लिइने बताइन्छ ।

दुवै मेयरबीच सौहार्द वातावरणमा कुराकानी भएको थियो । साम्पाङले फेसबुकमा भेटघाटको तस्विर पोस्ट गरेका छन् ।