नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले चैत २९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वारहरुले ५० प्रतिशत भन्दा बढी मत नपाए भोलिपल्टै चैत ३० गते निर्वाचन हुनेछ ।

महासंघको निर्वाचन समितिले प्रकासित गरेको सुचनामा कुनै पनि वरिष्ठ उपाध्यक्षका उम्मेद्वारले ५० प्रतिशत भन्दा बढी मत नपाए चैत ३० गते विहान ११ बजेदेखि मतदान सुरु हुने उल्लेख रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत २९ गते पहिलो चरणको निर्वाचन हुनेछ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंको सम्पूर्ण कम्पाउण्ड एरियालई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन अवधिभर मतदान केन्द्रभित्र कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानरहरु टाँस्न, झुन्ड्याउन र भड्किलो प्रदर्शन गर्न निशेष गरिएको छ ।

मतदान गर्न जाँदा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा तथा सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लिएर जान निषेध गरिएकाले आफ्नो मोबाइल, क्यामरा, झोला लगायतका वस्तुहरु आफन्त वा सुरक्षा कर्मीलाई बुझाउनुपर्ने बताइएको छ ।

यस्तै, जिल्ला-नगर तथा वस्तुगत संघ समूहको मतदान केन्द्रका लागि केन्द्र–१, वस्तुगत समूहको लागि केन्द्र–१ र एसोसिएट तर्फका मतदान केन्द्र–३ कायम गरिएको बताइएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्ला-नगर समूहका सबै पदका लागि रातो रंगको मतपत्र, वस्तुगत समूहका सबै पद (बरिष्ठ उपाध्यक्ष सहित) का लागि निलो रंगको मतपत्र र एसोसिएट समूहका सबै पद (बरिष्ठ उपाध्यक्ष सहित) का लागि सेतो रंगको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र भने पहेँलो रंगको हुनेछ ।

मत गणना स्थलमा मादक पदार्थ सेवन गरी प्रवेश गरी होहल्ला गर्न शान्ति सुव्यवस्था खलल पार्न निषेध गरिएको छ । यस्तो क्रियाकलाप भए गरेको पाइएमा सुरक्षा कर्मीको सहायताले हल बाहिर पठाउन सकिने निर्वाचनको कार्यालयले जनाएको छ ।

यस्तै, मतपत्र दिनु अघि हस्ताक्षर गरी आफ्नो परिचय पत्रमा मतदान गरेको संकेत स्वरुप परिचय पत्रमा प्वाल पारिने भएकोले सो समेत गराई मत पत्र रुजु गरी बुझी लिन र पद अनुसारका अलग अलग मत पेटिका राखिएकोले कुन मत पत्र कुन मत पेटिका खसाल्ने हो सो समेत यकिन गरी सम्बन्धित मतपेटिकामा खसाल्नु पर्ने बताइएको छ ।