सधैँ नागरिककै माझमा छु, मेरो जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

सधैँ नागरिककै माझमा छु, मेरो जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल



आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको बारा–२ बाट नेकपा एमालेका मधेश प्रदेश प्रदेश सहइन्चार्ज पुरुषोत्तम पौडेलले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेको माओवादी, कांग्रेस, लोसपा र एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली प्रतिस्पर्धीका रुपमा छन् ।

हेभिवेटको प्रतिष्ठासँगै जोडिएको कारणसर्वाधिक चासोको रुपमा हेरिएको बारा– २ मा उम्मेदवारी दिएका एमालेका पौडेलले २०४३ मा भएको जनपक्षीय प्रधानपञ्चको निर्वाचनमा २० वर्षको उमेरमा पहिलोपटक तत्कालीन बाराको निजगढ गाँबिसबाट चुनाबमा जित हासिल गरेका थिए ।

बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पौडेल २०५१ मा तत्कालीन बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । तर, त्यसयता भएको २०५६ निर्वाचन र २०६४ को पहिलो संविधानसभासम्मको चुनाबमा पराजय भएका पौडेलले पराजयको यो क्रमलाई ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तोडे । पौडेल ०७० मा तत्कालीन बारा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भई पराजय यो क्रमको अन्त गरे । त्यसयता पौडेलले संसदीय चुनावमा मात्र होइन, पार्टीभित्रका चुनावमा पनि अहिलेसम्म पराजय व्यहोर्नुपरेको छैन । २०७० मा निर्वाचित भएका पौडेल युवा तथा खेलकुद मन्त्री समेत भए ।

उनै पूर्वमन्त्री पौडेलसँग इन्दीप कोइरालाले गरेको कुराकानीको सम्पादित अंश :

१० वैशाखको चुनाव संघारमा छ । कस्तो तयारी छ यसपटक ?

मेरो चुनावी क्षेत्र बाराको सबैभन्दा विकट क्षेत्र हो । कोहल्वी नगरपालिका–८, पचारौता र महागढीमाई गरी ३ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाईजस्ता विकट गाउँपालिका मेरो क्षेत्रमा पर्छन् । सबै ठाउँमा पुगेको छु । मतदातासँग भेटघाटमै व्यस्त छु । पहिले अहिले र जहिले पनि म यस क्षेत्र र बारामै हुन्छु । मतदाताहरूसँग भेटघाटको कार्यक्रममा छु ।

म अरूजस्तो पाँच वर्षमा एकपटक चुनावकै बेला मात्र आफ्नो क्षेत्र पुग्नेभित्र पर्दिनँ । म आफैँ मेरो क्षेत्रका विभिन्न ठाउँमा पुगिरहेको हुन्छु । म पुग्न नसक्दा मेरा प्रतिनिधिहरू परिचालन गर्छु । कहाँ के समस्या छ ? कसलाई के सहयोग गर्नुपर्नेछ ? म बुझिरहेको हुन्छु । मेरो जिम्मेवारी मैले बुझेको छु । म जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेको हो । मैले राजनीतिलाई पेसा बनाएको छैन । त्यसकारण म सधैँ नागरिककै माझमा छु ।

यही क्षेत्रमा पहिलेपटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कस्तो अनुभव भइरहेको छ ?

म ०५१ सालको निर्वाचनमा यस क्षेत्रको केही भूभाग रहेको तत्कालीन बारा ३ थियो जुनबोलामा म निर्वाचित भएको थिएँ हाल सो भुभाग बारा क्षेत्र नम्बर २ मा पर्छ । ०७० पछि म चुनाबमा भाग लिएको थिईन तर, पार्टीले मेरो आवश्यकता फेरि पनि यसै क्षेत्रमा महसुस गरेकाले प्रतिनिधिसभाको उपनिर्वाचनमा यस क्षेत्रबाट उमोदवारी दिएको हुँ । प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छु । यसअघि मलाई मतदाताहरूले दिनुभएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको थिएँ । अहिले फेरि त्यही जिम्मेवारी मलाई छ । मैले हिजोको दिनमा जस्तै यस क्षेत्रका जनताको आर्थिक, सामाजिक परिवर्तनका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउनेछु ।

हो, हामीले व्यवस्था त परिवर्तन गर्यौ तर जनताको अवस्था परिवर्तन गर्न भने सकेनौँ । उनीहरूको मुख्य गुनासो भनेकै अवस्था परिवर्तनसँग जोडिएको छ । एमालेले यस क्षेत्रको विकासमा कुनै कसर बार्की राखेको छैन । त्यसैले जनतामा त्यति धेरै उत्साह देखिएको छ । आगामी दिनमा समेत जनतामा आशा र भरोसा जगाउन हामीले धेरै काम गर्न बाँकी छ ।

विगतका सम्झनालायक के–के काम गर्नुभयो ?

पछिल्लो समय सरकारमा हामी आफैँ सहभागी भएपछि भने हामीले यस क्षेत्रको लागि धेरै गर्न सकेको जस्तो लाग्छ । मैले आफूले सकेको अधिकतम गाउँमुखी बजेट ल्याउन सकेको छु । प्रतिनिधिसभा सदस्य नहुदाँ समेत बाराका बिभिन्न नगरपालिका र गाउँपालिकामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षामा बजेट ल्याएका छौँ ।

यस क्षेत्रका विकट स्थानमा बसोबास गर्ने सर्वसाधारणका लागि प्रत्येक वर्ष जाडोमा न्यानो कपडा, चाडपर्वको समयमा खाद्यान्न, बाढीपहिरोजस्ता प्राकृतिक र रोगब्याधीका समयमा आवश्यकताका आधारमा आर्थिक सहयोग, बेरोजगार युवालाई रोजगारीको व्यवस्था आफ्नै निजी लगानी र पहलमा पनि गरेको छु ।

आगामी दिनमा तपाईंका प्राथमिकता के–के छन् ? तपाईं यस क्षेत्रको बलियो दाबेदार पनि हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य बन्नुभयो भने तपाईंको भूमिका कस्तो हुन्छ ?

मैले अघि पनि भनेँ, म राजनीतिलाई पेसा बनाएर आएको हैन । म राजनीतिमा रहुन्जेल जे गर्छु, त्यो जनपक्षीय हुन्छ । जनताको भावना र आवश्यकता अनुसार गर्छु । त्यसकारण मेरो प्राथमिकता भन्दा पनि मेरो चुनावी क्षेत्रका जनताको प्राथमिकतामा मैले काम गर्ने हो । मैले जनतालाई सर्वोपरि मानेर काम गर्दै जाने हो । पदमा हुँदा वा नहुँदा दुवै समय मैले निरन्तर जनताको हितमा काम गरेको छु र गर्छु । यो मेरो प्रतिबद्धता हो ।

मेरो क्षेत्रमा बसोबास गर्ने मतदाताहरुको आर्थिक अवस्था कमजोर छ । सामाजिक चेतनाको कमी छ । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नुपर्ने छ । मैले अवसर पाए भने प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने कुरामा दुईमत छैन । मलाई आम मतदाताले त्यसको लागि विश्वास र भरोसा गर्नुपर्यो ।

प्रतिनिधिसभाको जिम्मेवारी पाउँदा विकासलाई नयाँ उचाइमा पुर्याउन काम गर्नेछु । गरिब केन्द्रित, गाउँमुखी, सेवामुखी, न्यायमुखी र आयमुखी काममा अघि बढाउने छु । सरकारले गरिब छोराछोरीलाई निःशुल्क शिक्षा दिने र सबै गरिब तथा विपन्नहरूको निःशुल्क स्वास्थ्य बिमा गने नीतिका निम्ती काम गर्ने छु ।

यहाँका अरू प्राथमिकता के–के छन् ?

बारा क्षेत्र नम्बर–२ मा संभावना नै संभावना छन् । यद्यपि, विकासको दृष्टिले पछाडि परेको छ । यो क्षेत्रको विकासको लागि एमाले नै चाहिन्छ भन्ने यहाँका जनताको आशा र भरोसा छ । विश्वप्रसिद्ध महागढीमाईको मन्दिर यही क्षेत्रमा छ । यो मन्दिर क्षेत्रको विकास गरेर यो समग्र क्षेत्रकै विकास गर्न सकिन्छ । महागगढीमाई मन्दिरमा जाने सडक र अन्य क्षेत्रको पूर्वाधार निर्माणको विकास मेरो प्राथमिकता हो ।

अहिले हेर्ने हो भने यहाँ शिक्षा, स्वास्थ्य, बाटो, खानेपानी सबैको समस्या देखिएको छ । अहिले पनि आर्सेनिक भएको ट्युवेलको पानी खान बाध्य छन् यो क्षेत्रका जनता । उत्पादन वृद्धिलगायतका विषयमा पनि कुनै योजना बनेको देखिदैँन । किसानलाई सहुलिय र मजदुरलाई अवसरको खाँचो छ । यहाँ अहिलेसम्म भएको भनेको क्षेत्रीय र जातीय विभाजनको कुराले मात्रै बढी प्राथमिकता पाएको छ । यो सकारात्मक कुरा होइन । अब यहाँको जनताको मुहारमा खुशी ल्याउन, यहाँका मजदुरलाई अवसर दिन, किसानलाई सहुलियत दिन गफ होइन काम गर्नुपर्ने छ । त्यो एमालेले मात्रै गर्नसक्छ । यो विश्वास यहाँका जनताले पनि गरेका छन् ।

मैले त्यस क्षेत्रको पूर्वाधार, आर्थिक र सामाजिक क्षेत्रको विकासका लागि काम गरेको थिएँ । त्यही भएर मैले क्षेत्र परिवर्तन गरेर गठबन्धनको विरुद्धमा एक्लो चुनावी प्रतिस्पर्धामा रहँदा पनि जित्न सफल हुन्छु भन्ने विश्वस्त छु । अघिल्लोपटक मलाई मतदाताले माया गर्नुभयो । मलाई अहिले पनि मतदाताबाट त्यही माया पाउँछु भन्ने विश्वास छ ।