काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई आग्रह गरेका छन् ।
मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्’ उनले भने ।
संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको थापाले बताए ।
प्रतिक्रिया