एमालेले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन

एमालेले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन



सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सोमबारदेखि लागू हुनेगरी समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

यसअघि आइतबार सुरूमा सरकार गठन गर्दा मन्त्री बनेका तीन जनाले पदबाट राजीनामा दिएका थिए । शर्मा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका थिए ।

उनीहरूले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा मुख्यमन्त्रीलाई काम गर्न सहजता प्रदान गर्ने उद्देश्यले राजीनामा दिएको बताएका थिए । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।

यसअघि फागुन १८ गते राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला राप्रपाबाहेक एमाले, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले उनलाई विश्वासको मत दिएका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा राप्रपाका एक जना सांसद छन्। एमालेका १० जना सांसद छन् । यस्तै, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, समाजवादीका १ र स्वतन्त्र एक जना सांसद छन् ।