ब्याजदर घट्न थालेको छ : राष्ट्र बैंक

ब्याजदर घट्न थालेको छ : राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा प्रकाश श्रेष्ठले ब्याजदर घट्दो क्रममा रहेको बताएका छन् ।

राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थतन्त्रको तथ्यांक प्रस्तुत गर्दै श्रेष्ठले माघदेखि ब्याजदर घट्दो क्रममा रहेको जानकारी दिए ।

उनले गतवर्षको तुलनामा शोधनान्तर तथा विदेशी मुद्राको सञ्चिति बढ्दो क्रममा रहेको हुँदा ब्याजदर घट्ने क्रममा रहेको बताएका हुन् ।

चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ८ महिनामा २५ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स बढेको जानकारी दिएको हो ।

यससँगै, साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड डलर पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।