सरकारी कोषमा १ खर्ब ९० अर्ब नगद मौज्दात छ : राष्ट्र बैंक

सरकारी कोषमा १ खर्ब ९० अर्ब नगद मौज्दात छ : राष्ट्र बैंक

एक महिनामा भित्रियो १ खर्ब ४ अर्ब रेमिट्यान्स



काठमाडौं । केन्द्रीय बैंकले सरकारीको १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको जनाएको छ । मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस अवधिमा संघीय, प्रादेशिक र स्थानीय तह तीन वटै सरकारीको कोषको गरी कूल १ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो ।

२०७९ असार मसान्तमा यस्तो मौज्दात२ खर्ब २५ अर्ब ८० करोड रहेको थियो । आर्थिक वर्ष २०७९/८० को ८ महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार ७ खर्ब ७९ अर्ब २३ करोड भएको छ ।

समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.६०८ अर्ब ८४ करोड, रु.८४ अर्ब २६ करोड र रु.८६ अर्ब १३ करोड रहेको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु.५८२ अर्ब ७७ करोड भएको छ ।

समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ५ खर्ब २६ अर्ब ४७ करोड र गैर कर राजस्व तर्फ ५६ अर्ब३० करोड परिचालन भएको बैंकले जनाएको छ ।

एक महिनामा भित्रियो १ खर्ब ४ अर्ब रेमिट्यान्स

वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार रेमिट्यान्स उक्त रकम बराबर भित्रिएको पाइएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ ।

चालु आवको फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको छ । अब यस्तो रकम ६ अर्ब ९ करोड पुगेको छ ।