भक्तपुर महोत्सव सम्पन्न

भक्तपुर महोत्सव सम्पन्न



भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जमिनमा आयोजना गरिएकोे ११ दिने ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ मा आजसम्म तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा गत चैत २३ गतेदेखि सुरु भएको महोत्सवको ११औँ दिनमा विभिन्न जिल्लाबाट आएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गरेकोे आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । वैशाख १ गते करिब ५० हजार, २ गते २५ हजारभन्दा बढीले महोत्सव अवलोकन गरेको उनको भनाइ थियो ।

अध्यक्ष महतले भने, “यो महोत्सव व्यापार गरेर नाफा कमाउनका लागि गरेका होइनौँ, महोत्सवमा सबै वर्गका उपभोक्ताको सहज पहुँच पुर्‍याएर दैनिक उपभोग्य सामानलगायत अन्य सामान सस्तो र सुलभरुपमा बिक्री गरेर सेवा गर्नु नै मूल उद्देश्य हो, त्यसैले यहाँका दुई सयवटा स्टलबाट बजारमा पाइने प्रत्येक सामान २० देखि ५० प्रतिशतसम्म छुट दिएर सस्तोमा सामान उपलब्ध गराउनाका साथै अवलोकनमा आएका मानिसलाई दैनिक साङ्गीतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका छौँ ।”

महोत्सवमा दैनिक उपभोग्य खाद्यान्न, विभिन्न थरिका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान, अटोमोबाइल, मोबाइल, सवारीसाधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खानालगायत वस्तु विक्रीका लागि राखिएका थिए ।यसवर्ष विभिन्न व्यक्तित्वलाई नगदसहितको पुरस्कार एवं सम्मानसमेत गरिएको छ ।

अध्यक्ष महतले भने, “बालबालिकाको आकर्षण मनोरञ्नात्मक खेलमा, युवाको आकर्षण दैनिक चर्चित कलाकारको म्युजिकल एवं मनोरञ्जनात्मक कार्यक्रममा र गृहणी तथा पाका उमेरकाको आकर्षण दैनिक उपभोग्य सामान तथा लत्ताकपडामा रह्यो । महोत्सव सबै वर्गका मानिसको आवश्यभकतालाई एकै थलोबाट पूरा गर्न र बालबालिकादेखि सबै उमेरका व्यक्तिलाई फरक फरक मनोरञ्जन प्रदान गर्न सफल रह्यो ।”

दैनिक साङ्गीतिक प्रस्तुति तथा बाल उद्यान :

महोत्सवमा बालबालिकालाई लक्ष्य गरी बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, विभिन्न खेल सामग्रीका साथै दर्जनौंँ राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति एवं हास्यव्यङ्यसहित मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएकोे महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले जानकारी दिए ।

महोत्सवमा दैनिक विभिन्न साङ्गीतिक ब्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र चर्चित गायक गायिकाको प्रस्तुति रहेको उनले बताए । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाँडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल निःशुल्क राखिको थियो । संयोजक थापाले वैशाख ४ गते भोलि महोत्सवस्थलमा नेपालका चर्चित गायक गायिका तथा ब्याण्डको विशेष सांस्कृतिक प्रस्तुति रहने बताए ।