इनरुवामा लघुवित्तपीडित र प्रहरीबीच झडप

इनरुवामा लघुवित्तपीडित र प्रहरीबीच झडप



सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा लघुवित्तको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले इनरुवाको बसचोकस्थित पूर्वपश्चिम राजमार्गमै सुतेर यातायत ठप्प पार्न खोजेपछि झडप भएको हो । झडपमा दुई प्रहरीसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सडक अवरुद्ध पार्ने प्रदर्शनकारीलाई हटाउनेक्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि दुई जना प्रहरी र एक जना महिला प्रदर्शनकारी घाइते भएको प्रहरी उपरीक्षक ढकालले बताए । घाइते तीनै जना जिल्ला अस्पताल इनरुवामा उपचारपश्चात् डिस्चार्ज भएका छन् ।

करिब साढे २ सय जना प्रदर्शनकारीमध्ये धेरैजसो महिला रहेको र प्रहरीको संयमताले ठूलो क्षति हुन नपाएको प्रहरीको दाबी छ । एक महिनायता विभिन्न लघुवित्त संस्थाबाट पीडितहरुले इनरुवामा प्रदर्शन गर्दै आएका छन् । यसअघि उनीहरुले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिँएका थिए ।