शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप

शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप



काठमाडौं । शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका उनीहरू न्यायका लागि सिंहदरबारअगाडि, भद्रकालीमा गएर धर्नामा बस्न जाने योजनामा थिए । प्रहरीले आफूहरुमाथि बल प्रयोग गरी त्यहाँबाट जान नपाइने भन्दै बल प्रयोग गरेको हुँदा झडप भएको पीडितहरूले बताएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोराको प्रयोग गरेको उनीहरूले बताएका छन् । झडपमा परी केही प्रहरी र १५–२० जना पीडितहरू घाइते भएका छन् ।

सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मधेसका विभिन्न २० जिल्लाका सयौं मिटरब्याज पीडितहरू चैत २० गते काठमाडौं आइपुगेका थिए । ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले चैत १८ गरेको सहमति फितलो भएको भन्दै दबाब दिन यो समूहका पीडितहरू काठमाडौं आएका हुन् ।