एनआईसी एशिया बैंककाे नाफासँगै बढ्याे प्रतिशेयर आम्दानी

एनआईसी एशिया बैंककाे नाफासँगै बढ्याे प्रतिशेयर आम्दानी



काठमाडौँ । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७९/८० को तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७७.७ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१६.५५ अर्ब पुर्याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ४.०१ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (RoE) २०.१७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४६.७६ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २१ वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई तेस्रो त्रयमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७९/८० को तेस्रो त्रयमाससम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।