यमनमा भागदौड मच्चिँदा ८० जनाको मृत्यु, कयौं घाइते

यमनमा भागदौड मच्चिँदा ८० जनाको मृत्यु, कयौं घाइते



यमनको राजधानी सानाको एक विद्यालयमा रमजानको लागि दान लिन भेला भएकाहरुबीच भागदौड हुँदा ८० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । कयौं मानिसहरु घाइते भएको र १३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटना शहरको बाब-अल-यमन क्षेत्रमा भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो फुटेजमा विभत्स दृश्यहरु देखिएको छ । सयौं मानिसहरू विद्यालयमा वितरण भइरहेको दान लिनका लागि भीडमा सामेल थिए । सोही क्रममा भागदौड भएको बताइएको छ ।

प्रति व्यक्ति लगभग ९ डलरका दरले मानिसहरुलाई पैसा बाँडिएकाले त्यहाँ ठूलो भीड जम्मा भएको थियो । हाउथी विद्रोहीले सन् २०१५ मा सरकार हटाएपछि सहरको नेतृत्व गरिरहेका छन् । पैसा वितरण गरिरहेकाहरुलाई हिरासतमा लिइएको छ र अनुसन्धान भइरहेको आन्तरिक मन्त्रालयले जनाएको छ ।