प्राधिकरणको समय थप गरेर भुकम्प पिडितलाई अनुदान दिन सांसद खतिवडाको माग

प्राधिकरणको समय थप गरेर भुकम्प पिडितलाई अनुदान दिन सांसद खतिवडाको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २०७२ बैशाख १२ गतेको महाभुकम्पबाट प्रभावितहरुले अझै राहात नपाएको बताएका छन् । आज भुकम्प गएको ८ वर्ष भएको अवसरमा प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले ३२ हजार २ सय ९९ जना भुकम्प पिडितले पुनरावेदनमा उजुरी दिएकाहरुको अझै सुनुवाई नभएको बताए । ६ हजार ४ सय ४३ जनाले पहिलो किस्ता मात्रै लिएको पनि उनले सदनमा जानकारी गराए ।

गत पुस ८ गतेबाट भुकम्प पुननिर्माण प्राधिकरणको समय समाप्त भएर प्राधिकरणमा परेका उजुरीहरु थन्किएकोले ती पिडितहरुको समस्यालाई सरकारले छिट्टै समाधान गर्न सांसद खतिवडाले आग्रह गरेका छन् ।

उनले सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट, दोलखा, ओखलढुङ्गा, रामेछाप, सोलुखुम्बु, नवलपरासी, भोजपुर, चितवन, रसुवा, पर्वत र धनकुटाका महाभुकम्पमा राहात नपाएका पिडितहरुको संख्या सदनलाई जानकारी गराउँदै भुकम्प पुननिर्माण प्राधिकरणकाे समय अवधि थप गरेर पिडितहरुलाई छिट्टै राहात दिन सरकारसँग छिटो निर्णय गर्न अनुरोध गरे ।

सरकारको खरको छानो विस्थापित गर्ने योजना अहिलेसम्म पनि पुरा नभएको भन्दै सांसद खतिवडाले ओखलढुङ्गा जिल्लामा मात्रै ४ हजार घरमा अझै पनि खरको छानो भएको बताए । उनले यसरी देशैभरिका खरको छानो विस्थापित गर्न सदनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।