अमेरिका र फिलिपिन्सका सैनिकले दक्षिण चीन सागरमा गरे युद्धाभ्यास

अमेरिका र फिलिपिन्सका सैनिकले दक्षिण चीन सागरमा गरे युद्धाभ्यास



एजेन्सी । अमेरिका र फिलिपिन्सका सैनिकहरूले दक्षिण चीन सागरमा नक्कली युद्धपोतमाथि आक्रमण गरेका छन् । चीनसँग अमेरिकाको तनाव बढिरहेको बेलामा गरिएको युद्धाभ्यासअन्तर्गत यो आक्रमण गरिएको हो ।

यस अभ्यासलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रत्यक्ष हेरेका थिए । वार्षिक गरिने बालिकातान अभ्यास अप्रिल २८ सम्म चल्नेछ । यसमा १७ हजार ६०० भन्दा बढी सैनिकहरू सहभागी छन् ।

अमेरिकी सेनाले एफ–३५ र एफ–१६ लडाकू विमानका साथै हिमार्स रकेट सिस्टम र कोब्रा हेलिकप्टर अभ्यासमा उपयोग गरेको थियो । फिलिपिन्सले चाहिँ एफए–५० लडाकू विमान, हेलिकप्टर र आर्टिलरी उपयोग गरी नक्कली युद्धपोतलाई तारो बनाएको थियो ।

लुजोन टापु नजिकको फिलिपिनो जलक्षेत्रमा अभ्यास गरिएको हो । लुजोन ताइवानबाट जम्मा ४५२ किलोमिटर टाढा छ । ताइवान नजिक यो अभ्यास गरिँदा चीनको सरकारी सञ्चारमाध्यमले यसलाई चीनप्रति लक्षित अभ्यासका रूपमा वर्णन गरेको छ ।

अमेरिका र फिलिपिन्सका सैन्य अधिकृतहरूले यो अभ्यास दुई देशका सेनाको युद्धकलालाई एकीकृत गर्ने प्रयास भएको बताएका छन् ।