अर्थतन्त्र सबै पक्ष मिलेर सुधार्नुपर्छ : अर्थमन्त्री महत

अर्थतन्त्र सबै पक्ष मिलेर सुधार्नुपर्छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत सत्तापक्ष र प्रतिपक्ष मिलेर अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौती समाधान गर्न आवश्यक रहेको बताएका छन् । उनले अर्थतन्त्रमा केहि दबाब परेको र यसलाई फुकाउन सरकार लागिपरेको पनि बताएका छन् ।

बुधवार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरूको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । अर्थतन्त्र सुधारका लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्व तहमा छलफल भइरहेको उनकाे दाबी छ ।

अर्थमन्त्री महतले सदनमा सांसदहरूले भनेकोजस्तो अर्थतन्त्र कहालीलाग्दो अवस्थामा नभएको भन्दै सरकार अर्थतन्त्र सुधाराेन्मुख गराउनसक्ने अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रमा समस्याका चाङ रहेको स्वीकार्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे । उनले शिथिलतामा पुगेको अवस्थालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय नभएको जिकिर गरे । उनले इमानदारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म आफू र पार्टीभन्दा माथि उठेर देश र नागरिकलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री महतले आफू अर्थमन्त्री भएर आएको एक महिना भएकाे भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए । उनले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिबद्धता जनाए । उनले अर्थतन्त्रमा बाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाइ गर्दा बैंकको ब्याजदर वृद्धि, मूल्यवृद्धि, आयात प्रतिबन्ध लगाउँदा अर्थतन्त्रमा समस्या आएको बताए ।

अर्थमन्त्री महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकारभित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको बताए । उनले बजार सङ्कुचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको पनि बताए ।