निराको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो

निराको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो

रगत लागेको सर्ट र सीसीटीभीमा देखिएको झोला बरामद



काठमाडौं । निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ ।

काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भएको पाण्डेको हत्या आरोपमा शनिबा झापामा पक्राउ परेका   विश्वकर्मालाई आइतबार काठमाडौं ल्याइएको हो । उनलाई आइतबार नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।  

लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले पाण्डेले लगाएको सुनको सिक्री पनि बरामद गरेको जनाएको छ । उक्त सिक्री बानेश्वरको एक पसलबाट भेटिएको र प्रारम्भिक बयानमा आरोपी विश्वकर्माले पनि हत्या स्वीकारेको प्रहरीको भनाइ छ । 

बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ ।

प्रहरीले शनिबार झापाबाट पक्राउ परेका बिक नियमित जाने गरेको काठमाडौंको कागेश्वरी-मनोहरास्थित एक रेष्टुरेन्टको कोठाबाट ती सामान बरामद गरेको हो ।

प्रहरीले अनुसन्धानका क्रममा सीसीटीभीमा एक युवकलाई देखेको थियो । ती युवक राइड सेयरको मोटरसाइकलमार्फत कागेश्वरी मनोहरास्थित एक रेष्टुरेन्टमा गएको अनुसन्धानमा खुलेपछि प्रहरीले त्यहाँ पुगेको थियो ।

प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा देखिएको झोला नै बरामद भएको हो । पक्राउ परेका बिक घटनापछि कागेश्वरी मनोहरास्थित रेष्टुरेन्टको कोठामा गएको र भोलिपल्ट झापा पुगेको प्रहरी स्रोतको भनाइ छ ।

उनले केही सुन घटना भएको भोलिपल्ट बालाजुको एक सुन पसलमा राखेको अनुसन्धान अधिकारीले बताएका छन् । त्यसक्रममा उनी राइड सेयर एप पठाओ र टेम्पो चढेको प्रहरीले जनाएको छ ।

एक सातासम्म पनि घटनाबारे कुनै पत्ता नलागेपछि हत्या अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।