सरकार र महावीर पुनबीच सिंहदरबारमा वार्ता

सरकार र महावीर पुनबीच सिंहदरबारमा वार्ता



काठमाडौं । सरकार र माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच वार्ता सुरु भएको छ ।

सिंहदरबारमा रहेको रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहितको टोलीबीच वार्ता भइरहेको मन्त्री खड्काको सचिवालयले जनाएको छ । वैज्ञानिक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा बजेट मागसहित अस्तिदेखि माइतीघरमा धर्ना थालेका हुन् ।

वैज्ञानिक पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने अडान राखेका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उनको भनाइ छ ।

उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्नेलगायतका माग गरेका छन् ।

माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक पुनलाई युवा तथा विभिन्न राजनीतिक दल र सङ्घसंस्थाले पनि साथ दिएका छन् ।