उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ



काठमाडौं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएपछि सचिव पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका थिए । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका हुन् । उनलाई काठमाडौं प्रहरी परिसरले केहीबेर अघि पक्राउ गरेको हो ।

अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् ।