मुगु हिमपहिरो : हेलिकप्टरमार्फत् सुरक्षाकर्मीसहितकाे टाेली च्यार्खु प्रस्थान

मुगु हिमपहिरो : हेलिकप्टरमार्फत् सुरक्षाकर्मीसहितकाे टाेली च्यार्खु प्रस्थान



मुगु । मुगु हिमपहिरोमा सम्पर्कविहीन भएकाको खोजीका लागि हेलिकप्टरमार्फत सुरक्षाकर्मी च्यार्खु प्रस्थान गरेका छन् । २२ वैशाखमा हिमपहिरोमा परेर बेपत्ता भएकाको खोजीकार्यका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थल च्यार्खुतर्फ प्रस्थान गरेका हुन् । तीनदिन पछि उद्वारको लागि टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाली सेनाको हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएका आफन्त र कर्मचारीसहित २० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

घटनाकै दिन इलाका प्रहरी चौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी गए पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।  समुद्री सतहदेखि करिब ५ हजार मिटर अग्लोमा रहेको च्यार्खु लेक पुग्न हिउँ अत्याधिक भएको र भौगोलिक विकटताले गर्दा सो क्षेत्रमा पुग्न कठिनाइ भएको जिल्ला प्रहरि कार्यालय मुगुका निमित्त प्रहरी नायव उपरीक्षक सुदर्शन पन्थिले बताए । 

पैदल यात्राबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टरसहित उद्धारकर्मी पठाएको हो । यार्सा संकलनको लागि च्यार्खु लेकमा यही २२ वैशाख दिउँसो १ बजे  हिम पहिरो आउँदा तारासिंह सार्की, पुन्न सार्की र वीर बोहरा बेपत्ता भएका थिए । त्यसमध्ये पुन्नसिंह सार्कीको भने शव फेला परिसकेको छ ।