संसद्‌मा अमरेशको अशिष्ट व्यवहार, के छ नियमावलीमा ?

संसद्‌मा अमरेशको अशिष्ट व्यवहार, के छ नियमावलीमा ?



काठमाडौं । सोमबार बिहानको प्रतिनिधिसभाको बैठकमा सर्लाही–४ बाट निर्वाचित संघीय सांसद अमरेशकुमार सिंहले असंसदीय व्यवहार प्रदर्शन गरेका छन् । उनले भनेको समयमा सभामुखले बोल्न नदिएपछि कोट, शर्ट र गञ्जीसमेत खोलेर नाङ्गो भए ।

प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुनेबित्तिकै सांसदहरूले उभिएर बोल्नका लागि समय माग गरे । सभामुख देवराज घिमिरेले बैठक विधिवत् सुरु हुन दिन आग्रह गरे र कारवाही अघि बढाए ।

सभामुख घिमिरेले विशेष समय नराखेको जानकारी दिँदै कारवाही अघि बढाउन खोजेपछि नेमकिपाका सांसद प्रेम सुवाल पनि अर्को कुनामा उभिएर समय मागिरहेका थिए तर बोल्न समय नदिएको भनेर रिसाइरहेका सांसद सिंह उभिएर एक एक गर्दै कपडा फुकाले ।

सभामुख घिमिरेले संसद् नियामावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित भएको बताउँदै सम्मानित संसद् बैठकमा यस्तो अशिष्ट, अश्लील, अपमानजनक र आपत्तिजनक व्यवहार नदेखाउनका लागि चेतावनी दिए ।

त्यसरी चेतावनी दिइरहँदा पनि सांसद् सिंहले भने एकोहोरो विरोध जनाइरहेका थिए । त्यसको केहीबेरपछि उनी संसद्‌बाट बाहिरिए ।

यस्तो छ संसद् नियमावलीको नियम २१ मा

(क) सभामुखको ध्यानाकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने,

(ख) सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,

(ग) संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने,

(घ) अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने,

(ङ) बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने ।

सभामुख घिमिरेले सिंहलाई ठिक ढंगले बस्न भनेका थिए । सभामुखले भने, ‘फर्केर आएर बस्नुस् । सभ्यताका साथ नियमअनुसार आफ्नो कुरा राख्नहोस् । नियामावलीको ३० अन्तर्गत बैठकमा यस्ता खालको व्यवहार नगर्नुस् । थप अन्य कारबाही हुन सक्छ ।’

नियामावली ३०

३०. चेतावनी : बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ ।